तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्व सन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उहाँले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताउनुभयो ।

गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गर्नुभयो ।

उहाँले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीति नै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिस्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भन्नुभयो ।

छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे  सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button