तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्ला अदालतमा एक महिनामा १ हजार ३०० मुद्दा फर्छ्योट

बाँके । बाँके जिल्ला अदालतले मुद्दाको चाप बढ्दै गए पनि छिटोछरितो, सहज र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले आफूले जिम्मेवारी सम्हाल्दा अदालतमा चार हजार ३१२ थान मुद्दा रहेकोमा मुद्दाको संख्या बढेर पाँच हजार ४९१ पुगेको जानकारी दिनुभयो । पछिल्लो एक महिनामा मात्रै एक हजार ३०० थान मुद्दा फर्छ्योट गरिएको उहाँले बताउनुभयो ।

बाँके जिल्ला बार एसोसिएसनले सरुवा भएर आएका न्यायाधीशहरूको स्वागतमा आयोजना गरेको कार्यक्रममा गौतमले पीडितले न्याय पाउने अधिकार र प्रतिवादीको आधारभूत मानव अधिकारलाई समान रूपमा ध्यान दिएर न्याय सम्पादन भइरहेको बताउनुभयो ।

“न्यायमा सहज पहुँच र छिटोछरितो न्याय सम्पादन हाम्रो मुख्य प्राथमिकता हो,” उहाँले भन्नुभयो, “सेवाग्राहीले अदालतबाट न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्ध छौँ।”

न्याय सम्पादनमा निर्भीकता र गुणस्तर कायम राख्दै अदालतप्रतिको जनविश्वास अभिवृद्धि गर्न आफूहरू क्रियाशील रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा मानव अधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमले न्यायका लागि अदालत पुग्ने नागरिकले सहज रूपमा समयमै न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। अदालतको सेवा प्रभावकारी बनाउन गुणस्तरीय न्याय सम्पादनसँगै मुद्दा फर्छ्योटको गति बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष प्रह्लादबहादुर कार्कीले न्याय सम्पादनलाई प्रभावकारी बनाउन बार र बेन्चबीचको सम्बन्ध तथा समन्वय महत्त्वपूर्ण हुने बताउनु भयो । नेपालगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले न्यायको खोजीमा अदालत प्रवेश गर्ने नागरिक अन्यायमा पर्न नहुने उल्लेख गर्दै न्यायिक प्रक्रियालाई थप सरल र सेवाग्राहीमैत्री बनाउनुपर्ने जिकिर गर्नुभयो ।

वरिष्ठ अधिवक्ता श्यामकुमार गौतम र अधिवक्ता भोलासिंह हमालले बार र बेन्च एकअर्काका परिपूरक भएकाले आपसी सहकार्यबाट मात्रै प्रभावकारी न्याय सम्पादन सम्भव हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बाँके जिल्ला अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू विष्णुप्रसाद गौतम, शिललाल पाण्डेय, श्यामबिहारी मौर्य, विष्णुप्रसाद रेग्मी, जीवनकुमार भण्डारी र नारायण सापकोटासहित यामबहादुर बानियाँ तथा एक वर्षदेखि कार्यरत न्यायाधीश इन्दिरा शर्मालाई स्वागत गरिएको थियो।

बाँके जिल्ला बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी न्यायाधीशहरूले न्यायिक निष्ठा र मर्यादा कायम राख्दै पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button