तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवाबाट ३२ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिकाबाट प्रहरीले ३२ किलो ५२० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–१ पिपरहवाका ४० वर्षीय रामनरेश कुर्मी रहेका छन् । प्रहरी चौकी खडैचाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार गस्तीका क्रममा कुर्मीले चलाएको साइकल जाँच गर्दा गाँजा फेला पारेको हो। 

साइकलको पछाडि स्याउला र घाँसभित्र लुकाएर राखिएको अवस्थामा १० किलो २२० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।

त्यसपछि प्रहरीले कुर्मीको घर, कोठा तथा खेतबारीमा खानतलासी गरेको थियो। सो क्रममा खेतमा थुप्रो पारेर राखिएको अवस्थामा थप २२ किलो ३०० ग्राम गाँजा बरामद भएको राठौरले बताउनु भयो ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल परिमाण ३२ किलो ५२० ग्राम रहेको छ। प्रहरीले गाँजासहित एक थान किप्याड मोबाइल र एक थान साइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका कुर्मीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पछिल्लो समय बाँके प्रहरीले लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रण गर्न निगरानी बढाउनुका साथै कारबाहीलाई तीव्र बनाउँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button