तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया। बर्दियामा हिंस्रक वन्यजन्तु (चितुवा) को आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। राजापुर नगरपालिका वडा नं. ३, तिघ्रामा वन्यजन्तुले आक्रमण गर्दा स्थानीय ४८ वर्षीय मङ्गल थारूको मृत्यु भएको हो।

गएराति करिब ११ बजे तिघ्रा चोकबाट आफ्नो घर चख्खापुर फर्किने क्रममा थारूमाथि आक्रमण भएको थियो। वन्यजन्तुको टोकाइ र पञ्जाबाट घाँटी तथा गालामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रत्यक्षदर्शी नभए पनि घाउको प्रकृति हेर्दा हिंस्रक जनावरले नै आक्रमण गरेको देखिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि विस्तृत विवरण खुल्ने उनले बताए।

यता, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख टोलकराज चापागाईंले घटनास्थल आसपास चितुवाको पाइला देखिएकाले आक्रमण चितुवाकै हुन सक्ने अनुमान गरिएको बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button