तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : बिहान ७ बजेदेखि मतदान, आजै मतगणना गर्ने तयारी


काठमाडौँ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ।


मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा लाइनमा लागेका छन्। बिहीबार अपराह्नदेखि सुरु गर्ने भनिएको मतदान खराब मौसम, प्राविधिक समस्या र मतदाताको स्वास्थ्यलाई ध्यानमा राख्दै आज बिहानका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।


निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।


मतदानका लागि आवश्यक तयारी पूरा भएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभएको छ। मतपत्रमा हस्ताक्षर गर्न ३२ जना वरिष्ठ अधिवक्ता खटिएको उहाँले बताउनुभयो।


महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र निर्धारण गरिएको छ। मतदान गर्नुअघि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान पाइने छैन।

यसैबीच, महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभएको छ।


मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतगणना पूरा भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

महाधिवेशनले केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाउने गरी विधान संशोधन गरेकाले यसपटकको निर्वाचनलाई पार्टीको नयाँ नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button