विराट व्यापार सङ्घको आयोजनामा आजदेखि विराट ट्रेड फेयर दशै मेला शुरु

विराटनगर । नेपालीहरूको ठुलो चाड दशैलाई लक्षित गदै विराट ब्यापार सङ्घको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो ।
असोज ३० गतेसम्म सञ्चालन हुने सो मेलामा नेपाल भारतका गरि खाद्यान्न, लत्ताकपडा लगायत विभिन्न सामाग्रीका तीन दर्जन बढी स्टलहरू रहेका छन् । सवा लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने तथा मेलामा एक अर्ब बढीको प्रत्यक्ष रुपमा कारोबार हुने अनुमान गरिएको छ ।
सो अवसरमा बोल्नुहुँदै सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यको नीति थप प्रभावकारी र व्यवसायमैत्री हुनुपर्ने बताउनुभयो । सीमावर्ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या समाधान नगरेसम्म स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउन कठिन हुने उहाँले बताउनुभयो।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले खुला सीमा र नेपाल–भारतबीचको कर संरचनामा रहेको असमानताका कारण नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढिरहेको बताउनुभयो ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले चाडपर्वको समयमा विराटनगरको बजारमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सकिने आशाका साथ ट्रेड फेयर आयोजना गरिएको बताउनुभयो । दसैंको किनमेल विराटनगरमै रोक्न सके स्थानीय बजारमा करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजक समितिका अध्यक्ष अग्रवालले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, प्रदेश योजना आयोगका अध्यक्ष तारानाथ निरौला, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले बोल्नु भएको थियो ।
उहाँहरूले स्थानीय उत्पादनको प्रवद्र्धन, कर तथा भन्सार नीतिमा सुधार, व्यवसाय सञ्चालनको लागत घटाउने तथा उपभोक्तालाई स्वदेशमै किनमेल गर्न प्रोत्साहित गर्ने नीति आवश्यक रहेकोमा जोड दिएका दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्