तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा सुरक्षा मजबुत बनाउन बाँकेमा एक हजार एक सय ५० प्रहरी परिचालन

बाँके । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले चाडपर्वका बेला हुन सक्ने अशान्ति तथा आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै भारतबाट स्वदेश फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि जिल्लामा नेपाल प्रहरीका एक हजार एक सय ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यकता अनुसार प्रहरी गणबाट थप जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो।

चोरी, लुटपाट, पाकेटमारीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा मोबाइल तथा पैदल गस्ती बढाइएको छ। भिडभाडको मौका छोपेर हुन सक्ने चोरी तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोसाकमा ५० जना प्रहरीसमेत परिचालन गरिएको प्रहरी प्रमुख जिसीले बताउनुभयो।

“सर्वसाधारणलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन मोबाइल तथा पैदल गस्ती बढाइएको छ,” उहाँले भन्नुभयो, “भिडभाडमा हुन सक्ने चोरी तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरेका छौँ ।”

चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा समेत विशेष निगरानी बढाइएको छ। जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच तथा निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई तत्काल कारबाही गरिने प्रहरी प्रमुख जिसीले बताउनुभयो। विगतमा चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा छिटो गन्तव्यमा पुग्ने नाममा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न सडकमा प्रहरी परिचालन बढाइएको उहाँको भनाइ छ ।

भारतबाट फर्किने यात्रुको सुरक्षा तथा सहजीकरणका लागि जमुनाहा नाकादेखि नेपालगञ्ज बसपार्कसम्म विशेष निगरानीको व्यवस्था गरिएको छ। सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा ओसारपसार नियन्त्रणका लागि समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा कुनै समस्या, आपराधिक गतिविधि वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button