पार्टीमा सबैको हक बराबर : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको हुने बताउनुभएको छ ।

काठमाडौँको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै आज सभापति थापाले पार्टी एउटै परिवार रहेकोले अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्र प्रतिस्पर्धा रहेको उल्लेख गर्नुभयो । सभापति थापाले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको पनि बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेकोले यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध भएर देशलाई दिशा दिनुपर्ने बताउनुभयो ।
नेता आङदेम्बेले काँग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने भन्दै विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा बहस गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
नेता आङदेम्बेले काँग्रेसले अनुहार परिवर्तन मात्र नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तै नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृति अनुसार अघि बढाउनु रहेको बताउनुभयो ।
यस्तै महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न आर्थिक तथा समसामयिक विषयसम्बन्धीका प्रतिवेदन पारित भएका छन् ।
पार्टी सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन,उपसभापति विश्वप्रकाश शर्माले पेश गर्नुभएको समसामयिक विषयसम्बन्धी प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
महाधिवेशन अन्तर्गत भोली नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन कार्यक्रम छ । बिहान १० बजेदेखि सुरु हुने मतदानका लागि प्रदेशगत रुपमा खुला मञ्च, राष्ट्रिय सभा र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्