तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर

महेन्द्रनगर । कञ्चनपुरमा दसैँ, दीपावली र छठपर्व लगायतका चाडपर्व नजिकिएसँगै जिल्ला खेलकुद प्रतियोगितामय बनेको छ । 

चाडपर्वको अवसरमा पारेर यहाँ फुटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता खेलकुद समिति र क्लबहरूको आयोजनामा सञ्चालन हुँदैछ । कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो वासुदेव स्मृति सेभन ए साइड यू–१६ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ । 

प्रतियोगिताका संयोजक गौरव बोहराले प्रतियोगितामा जिल्लाभरका सामुदायिक र संस्थागत गरी ३२ विद्यालय सहभागी रहेको जानकारी दिनुभयो । उक्त प्रतियोगिता कञ्चनपुर जिल्ला फुटबल सङ्घको समन्वयमा भइरहेको छ ।

त्यस्तै, कञ्चनपुरको कृष्णपुर–२ मा दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समितिले पनि मङ्गलबारदेखि दसैँ, दीपावली तथा छठपर्वको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगितामा भेट्रान, यू–१६ र युवातर्फ गरी तीन विधामा फुटबल हुँदैछ । 

वन संरक्षणसँगै खेलकुदको सम्मान, भेट्रान फुटबल स्वास्थ्य र एकताको अभियान भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा भेट्रानतर्फ १३, यू–१६ मा १३ र युवा विधामा १६ टिम सहभागी रहेको प्रतियोगिता संयोजक धर्मबहादुर थापाले बताउनुभयो । प्रतियोगितामा भेट्रानमा उपाधि विजेतालाई रु ५१ हजार तथा यू–१६ र युवातर्फको उपाधि विजेता टिमलाई रु २० हजार नगद प्रदान गरिनेछ । 

त्यस्तै शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले शुक्रबारदेखि झलारीमा तीन दिने सुदूरपश्चिम प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । सङ्घका अध्यक्ष पुष्पराज भट्टले खेलकुदका माध्यमबाट सद्भाव कायम गर्दै स्वास्थ्य समाज निर्माण गर्ने, समाजमा विद्यमान कुरीति, विसङ्गतिको अन्त्य गर्ने, युवा पिँढीलाई लागु औषधबाट टाढा राखेर समाज रूपान्तरणमा युवाको सक्रिय सहभागिता गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा पनि दशैं शुभ दिवापलीको अवसरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता एक सातादेखि सञ्चालन भइरहेको छ । दोधारा चाँदनी नगर खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा नगरभित्रका २० टिम सहभागी छन् । समितिका अध्यक्ष रवि गिरीले प्रतियोगिताको उपाधि विजेता टिमले रु एक लाख एक हजार नगदसहित पुरस्कृत हुने जानकारी दिनुभयो ।

त्यसैगरी, यहाँको बेल्डाडी गाउँपालिकामा पनि घटस्थापनाको दिन कञ्चनपुर निर्वाचन क्षेत्र नं १ स्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । डेढ दर्जन हाराहारी टिम सहभागी हुने उक्त प्रतियोगिता बेल्डाडी फुटबल एकेडेमीले आयोजना गर्न लागेको हो । प्रतियोगिताको उपाधि विजेता टिमले रु ८५ हजार नगदसहित सम्मानित हुनेछ ।

त्यसैगरी कञ्चनपुरकै ठूलो बृहत् १६ औँ रनिङ्ग चाँदी कप खुला फुटबल प्रतियोगिता कञ्चनपुरको पुनर्वासमा शनिवारबाट सुरु हुँदैछ । आयोजक सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरका २९ टिम सहभागी हुने जानकारी दिनुभयो ।

उहाँले दसैँ दीपावलीको अवसर पारेर यस वर्ष ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ प्रतियोगिता आयोजनाको तयारी भइसकेको बताउनुभयो । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ लामो समयदेखि चाडपर्वको बेला प्रतियोगिता जिल्लाभर सञ्चालन हुँदै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button