तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री डा तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा पनि छलफल भएको थियो । सो क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताउनुभयो ।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभएको थियो । उहाँले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिनुभएको थियो । 

भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button