राष्ट्रिय सभा: ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३’ पारित
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ पारित भएको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पेश गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक छलफलपछि पारित भएको हो ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै पर्यटन मन्त्री खडकराज पौडेलले आन्तरिक हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन विधेयक ल्याएको बताउनुभयो ।
मन्त्री पौडेलले विधेयकमा यात्रु र हवाई सेवा प्रदायकको अधिकतम हित संरक्षण लाई ध्यान दिइएको र नयाँ कानूनी व्यवस्थाले हवाई भाडा पनि नबढ्ने स्पष्ट पार्नुभयो ।
छलफलमा सांसदहरूले विदेशी र नेपाली यात्रुले पाउने क्षतिपूर्तिमा एकरुपता कायम हुनुपर्ने, तोकिएको समयमा उडान हुन नसकेको अवस्थामा यात्रुमा पुग्ने क्षतिको समेत उचित राहत तथा क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्ने, उडान तालिका सार्वजनिक गर्ने र त्यसको कडाइका साथ लागु हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
यस्तै आजको राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको राष्ट्रिय राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ ।
यस्तै बैठकमा महालेखा परीक्षकको त्रिसठ्ठिऔं वार्षिक प्रतिवेदन २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
यसअधि बैठकमा सांसदहरूले बाढीका कारण विभिन्न ठाउँमा सडक अवरूद्ध हुँदा बाटोमा रोकिएका नेपाली व्यापारीले चीनबाट ल्याएका सामान ल्याउन पहल गर्न तथा दसैँको चहलपहल सुरु हुनु अगाडि नै बाढीबाट अवरुद्ध सडक सुचारु गर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले चाँदनी–दोधाराको झाेलुंगेपुल छिटो मर्मत गर्न, बाढीपहिरोबाट प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्