बाढीको पूर्व सूचना दिने परम्परागत शैली बदल्नुपर्ने सुझाव
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने बताउनुभएको छ ।
यहाँ आज आयोजित ‘परिवर्तनशील हिमालयमा जल सुरक्षा: विपत् उत्थानशीलता र आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि रूपान्तरण’ विषयक उच्चस्तरीय संवादमा कार्यकारी प्रमुख डा उप्रेतीले सो कुरा बताउनुभएको हो ।
उहाँले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका क्रममा भएको मानवीय क्षतिको कारण ‘बाढी नदीमै सीमित हुन्छ र आफ्नो घरसम्म आइपुग्दैन’ भन्ने आम बुझाइ पनि एउटा कारण रहेको उल्लेख गर्नुभयो ।
“भोटेकोशी–त्रिशूलीमा आएको बाढी यति धेरै विनाशकारी हुन्छ भन्ने सर्वसाधारणले अपेक्षा गरेका थिएनन्,” कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो, “बाढीको दृश्य सामाजिक सञ्जालमा कैद गर्ने प्रयास गर्दासमेत केही व्यक्तिको ज्यान गएको देखिन्छ ।”
गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । बाढीले सडक, पुल, जलविद्युत् संरचना र बस्तीमा समेत क्षति पुर्याएको थियो ।
कार्यकारी प्रमुख डा उप्रेतीले हिमाली क्षेत्रमा देखिएको पछिल्लो प्रकृतिको विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै वैज्ञानिक सूचना र तथ्यलाई समुदाय तथा सम्बन्धित निकायले तत्काल निर्णय र उद्धारमा प्रयोग गर्न सक्ने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
“विपद्का बेला विज्ञानलाई कार्ययोग्य बनाउनुपर्छ,” उहाँले भन्नुभयो । पूर्वसूचना प्रणालीले खतरा आउँदै छ भन्ने जानकारी मात्र नभई जोखिमको गम्भीरता बुझाएर मानिसलाई समयमै सुरक्षित स्थानमा पुग्न र सम्बन्धित निकायलाई तत्काल कदम चाल्न सक्षम बनाउनुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपालस्थित संयुक्त अरब इमिरेट्सको दूतावास र अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (आईडब्लूएमआई)ले संयुक्त रूपमा आयोजना गरेको संवादमा पानीसँग जोडिएका बढ्दो जलवायु तथा विपत् जोखिमबारे छलफल गरिएको थियो ।
संवादमा आफ्नो धारणा राख्दै आईडब्लूएमआईका महानिर्देशक डा मार्क स्मिथले पानी खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, जनस्वास्थ्य, पारिस्थितिक प्रणाली र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको बताउनुभयो । नेपालको उत्थानशीलता र दिगो विकासको भविष्य पानी व्यवस्थापन गर्ने तरिकामा निर्भर रहने उहाँको भनाइ थियो ।
“अब टुक्रा टुक्रामा गरिने दृष्टिकोणबाट अघि बढेर एकीकृत, समावेशी र लक्ष्य केन्द्रित पानी योजना, निर्णय र लगानीतर्फ जानुपर्छ,” डा स्मिथले भन्नुभयो । नीति, योजना र लगानी वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिँदै उहाँले विज्ञान, नीति, लगानी र स्थानीय तहबीचको सम्बन्ध बलियो बनाउन सके पानीजन्य जोखिम घटाउँदै समुदायको सुरक्षा र समावेशी विकासलाई अघि बढाउन सकिने बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र अमात्यले नेपालले वित्तीय स्रोत, संस्थागत तथा प्राविधिक क्षमता, आधुनिक प्रविधिमा पहुँच र दिगो निर्णय सहयोग प्रणालीको क्षेत्रमा अझै चुनौती सामना गरिरहेको बताउनुभयो ।
उहाँले परियोजनामुखी सोचबाट माथि उठेर परियोजनामार्फत विकास भएका प्रविधि, प्राविधिक सीप र संस्थागत ज्ञानलाई सरकारी प्रणालीमै कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शम्सीले हिमाली क्षेत्रका केही भूभाग ‘जल दिवालियापन’को अवस्थामा पुग्न लागेको वा पुगिसकेको चेतावनी दिनुभयो । बढ्दो जल संकट सम्बोधन गर्न सामान्य सुधारले मात्र नपुग्ने भन्दै उहाँले ‘वास्तविक पुनर्संरचना’ आवश्यक रहेको बताउनुभयो । हिमनदी पग्लने क्रम, अनियमित मनसुन र हिमनदी विस्फोटका घटना अब भविष्यका सम्भावित जोखिम नभई नेपालको वर्तमान वास्तविकता बनिसकेको उहाँको भनाई थियो ।
आईडब्लूएमआई नेपालकी राष्ट्रिय प्रतिनिधि डा मनोहरा खड्काले विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । “कठिन समयमा तीन तहका सरकार र सम्बन्धित सबै संस्थाबीचको सहकार्य अत्यन्त महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो ।
संवादमा बदलिँदो जल जोखिमले पानी सुरक्षा, कृषि–खाद्य प्रणाली, स्थानीय जीविकोपार्जन र अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको थियो । सहभागीहरूले नीति, ज्ञान, संस्थागत क्षमता र शासन प्रणालीमा रहेका कमजोरी पहिचान गर्दै जलवायु तथा विपत् उत्थानशीलता बढाउन आवश्यक प्राथमिकताबारे समेत छलफल गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्