तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा रातिको समयमा सवारी आवागमनमा रोक

इलाम  । इलाममा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय इलामले असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म हरेक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडकमा सवारी सञ्चालनमा रोक लगाएको हो।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म नेपालभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अवरोध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रातिको समयमा यात्रा रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको छ ।

गत वर्षको बाढी पहिरोपछि जिल्लाका कतिपय सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकोले इलाममा उच्च सतर्कता अपनाइएको छ । मेची राजमार्ग अन्तर्गतको माइखोला राजदुवाली सडकखण्ड पूर्णरूपमा सहज भइसकेको छैन।

प्रशासनले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अत्यावश्यक यात्रा गर्नुपर्ने भए प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ। बुधबार साँझदेखि इलाममा निरन्तर वर्षा भइरहेको छ । जनजीवन सामान्य रहेको छ। मेची राजमार्गको राजदुवाली सडक, बेलासे सडक र सिमलगोलाई सडक हालसम्म सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रशासनले एसएममार्फत सचेत रहन नागरिकहरूलाई अनुरोध गरिरहेको छ । असोज ९ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले सो अवधिभर उच्च सतर्कता अपनाउन, आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न, जोखिमपूर्ण स्थानमा रहेकालाई विपद् पूर्व नै सुरक्षित स्थानमा लैजानु र खोज उद्धार तथा प्रतिकार्यमा तयारी रहन अनुरोध गर्दै सन्देश प्रवाह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button