नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक वीरगंजमा सम्पन्न

वीरगञ्ज । सीमावर्ती क्षेत्रमा देखिँदै आएका समस्या समाधान, अन्तरदेशीय अपराध नियन्त्रण तथा दुई देशका सुरक्षा निकाय बीचको समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) मा सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, लागूऔषध तस्करी, हतियार ओसारपसार र मानव बेचबिखन नियन्त्रणका विषयमा दुवै पक्षबीच गम्भीर छलफल भएको छ । बैठकमा दुवै देशका उच्च प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा नेपालकातर्फबाट पर्सा, बारा, चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । त्यसैगरी, भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (डिएम) तथा सुरक्षा निकायका उच्च पदाधिकारीहरू बैठकमा सहभागी थिए ।
बैठकमा नेपालबाट भारततर्फ हुने गाँजा तथा चरेसको तस्करी नियन्त्रण गर्ने र भारतका पूर्वी तथा पश्चिमी चम्पारण क्षेत्रबाट नेपालतर्फ भित्रिने खैरो हेरोइन, साना हतियार तथा अन्य लागूऔषधको ओसारपसारमा कडाइ गर्ने सहमति भएको छ ।
यसैगरी, सीमावर्ती क्षेत्रमा बढ्दो मानव तथा चेलीबेटी बेचबिखन रोक्न र अन्तरदेशीय अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित रूपमा सूचना आदानप्रदान गर्ने विषयमा दुवै पक्ष सहमत भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।
सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न दुवै देशका प्रशासनिक तथा सुरक्षा निकायबीचको सहकार्य र समन्वयलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्