भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर

ख्वप (भक्तपुर) । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०÷५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो ।
नगरपालिकाले पहिलो पटक गैर सार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ । यसपछि बिस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए ।
सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२÷८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्याङ्क हो ।
तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैर सार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् ।
भक्तपुरको पर्यटनमा पछिल्ला तीन दशकमा उतारचढाव देखिएको छ । विसं २०५०÷५१ मा ८७ हजार ३४५, २०५१÷५२ मा ९७ मा हजार ७५७, २०५२÷५३ मा एक लाख १२ हजार ७४०, २०५३÷५४ मा एक लाख १० हजार ८५२ र २०५४÷५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए ।
विसं २०५५÷५६ मा एक लाख ९७ हजार ८०५, २०५६÷५७ मा एक लाख ९७ हजार ८८१, २०५७÷०५८ मा एक लाख ८० हजार ५३, २०५८÷०५९ मा ९१ हजार ८००, २०५९÷०६० मा ८५ हजार १५३, २०६०÷६१ मा एक लाख १९ हजार ३९, २०६१÷६२ मा ८७ हजार ६०५, २०६२÷६३ मा ९२ हजार ३३० र २०६३÷६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे ।
त्यसपछिका वर्षमा क्रमशः २०७८÷७९ मा ५३ हजार ५६०, २०७९÷८० मा एक लाख ६७ हजार ६५२, २०८०÷८१ मा दुई लाख ४५ हजार ५९३, २०८१÷८२ मा दुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२÷८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् ।
कुन वर्षमा सबैभन्दा कम पर्यटक ?
कोरोनाका कारण आव २०७७÷७८ भक्तपुरको पर्यटन इतिहासमै पर्यटक आगमनका हिसाबले सबैभन्दा कमजोर वर्ष बनेको थियो ।
उक्त वर्ष तीन हजार ११२ पर्यटक भक्तपुर भित्रिए । यो वर्ष गैर सार्क मुलुकबाट एक हजार ३८३ तथा चीनसहित सार्क मुलुकबाट एक हजार ७२९ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए ।
भक्तपुर नगरपालिकाले गैर सार्क राष्ट्रका पर्यटकसँग २०५० सालदेखि नै प्रवेश शुल्क लिन थालेको थियो भने सार्क राष्ट्र (नेपालीबाहेक)सँग २०५४ सालदेखि प्रवेश शुल्क लिन थालेको थियो ।
कुन वर्षमा सबैभन्दा बढी पर्यटक?
बत्तिस वर्ष लामो इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पर्यटकले भक्तपुर भ्रमण गरेको वर्ष आव २०७०÷७१ हो । उक्त वर्ष एक वर्षमा दुई लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुर टेकेका थिए ।
४० भन्दा बढी मुलुकका पर्यटकले घुमे भक्तपुर
नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ४० भन्दाबढी मुलुकका पर्यटकले भक्तपुर भ्रमण गरिसकेका छन् । अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, बेलायत, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, नेदरल्यान्ड्स, हङ्गेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीजरल्यान्ड, ताइवान, टर्की र थाइल्यान्डलगायत मुलुकबाट पर्यटक भक्तपुर आएका छन् । पछिल्लो समय भक्तपुर नगरपालिकाले विभिन्न स्थानमा मेटलका क्युआर कोडसमेत राखेर पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
सबैभन्दा बढी भारतीय, त्यसपछि चिनियाँ
भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार भक्तपुर घुम्ने आउनेमा पहिलोमा भारतीय पर्यटक पर्दछन् । दोस्रोमा भने चिनियाँ पर्यटक परेका छन् । गत आव एक वर्षको मात्रै तथ्याङ्कअनुसार ७० हजार ७११ जना भारतीय पर्यटकले भक्तपुरको भ्रमण गरेको थियो ।
त्यस्तै, चीनबाट ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १३ हजार २११, जर्मनीका १० हजार ८०० जना, फ्रान्सका नौ हजार ९८०, इटालीका सात हजार ७३, स्पेनका पाँच हजार ३६२, जापानका छ हजार ७९६, इङ्ल्याण्डका छ हजार, अस्ट्रेलियाका चार हजार ९४६, ताइवानका चार हजार ९५० र हल्यान्डका तीन हजार ७४२ नागरिकले भक्तपुर अवलोकन गरेको थियो ।
चौध स्थानबाट पर्यटक शुल्क
भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकबाट हाल १४ वटा स्थानबाट पर्यटक शुल्क उठाउँदै आएको छ । खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोमा पर्यटक शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् । थप एउटा काउन्टर निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगर प्रवेश गर्ने सम्पूर्ण नाकाहरूमा एउटा एउटा काउण्ट राखेर नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क उठाउने गर्दछ ।
कति छ प्रवेश शुल्क ?
भक्तपुर नगरपालिकाले गैर सार्क मुलुकका पर्यटकका लागि हाल प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । सुरुमा विसं २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रुपैयाँबाट प्रवेश शुल्क लिन सुरु गरिएको थियो ।
त्यसपछि २०५३ साउन १ गते ३०० रुपैयाँ, २०५७ साउन १ गते ३७५ रुपैयाँ, २०५७ पुस १७ गते ७५० रुपैयाँ, २०६७ पुस १७ गते एक हजार १०० रुपैयाँ, २०७० पुस १७ गते एक हजार ५०० रुपैयाँ र २०७९ पुस १७ गते एक हजार ८०० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको थियो । विसं २०८२ साउनदेखि गैर सार्क पर्यटकका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ कायम गरिएको हो ।
चीनसहित सार्क पर्यटकको शुल्क
चीनसहित सार्क मुलुकका पर्यटकका लागि विसं २०५४ पुस १७ गतेदेखि प्रवेश शुल्क लिन थालेको थियो । पहिलो पटक नगरपालिकाले प्रतिव्यक्ति तीन रुपैयाँ प्रवेश शुल्क लिन सुरु गरेको थियो । त्यसपछि त्यसलाई २०५७ पुस १७ गतेदेखि ५० रुपैयाँ, २०६७ देखि १०० रुपैयाँ र २०७१ साउन १ गतेदेखि ५०० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
छ वटा भाषामा पर्यटन सामग्री
नगरपालिकाले पर्यटकले टिकट काटेपछि जानकारीमूलक प्रतिटिकट एउटा एउटा सूचना सामग्री अर्थात् ब्रोसर प्रदान गर्दछ । टिकट काट्ने काउन्टरबाटै पर्यटकलाई ती सूचना सामग्री प्रदान गरिन्छ ।
सूचना सामग्री आफ्नै भाषामा होस् भनेर नगरपालिकाले विभिन्न ६ वटा भाषाहरूमा सामाग्रीहरू प्रकाशन गरेका छन् । अमेरिका, चीन, जर्मनी, जापान, फ्रान्स र स्पेनका पर्यटकलाई लक्षित गरी छ वटा भाषामा नक्सासहितको पर्यटन ब्रोसर उपलब्ध गराउँदै आएको छ । यी सबै ब्रोसरमा रहेका सूचनाहरू भने एउटै हुन् । मात्रै भाषा फरक हो ।
के हुँंदैछ भक्तपुरमा प्रवेश शुल्कबाट ?
भक्तपुर नगरपालिकाको आन्तरिक स्रोतमध्ये एउटा प्रमुख स्रोत हो पर्यटक शुल्क । त्यसकारण शुल्क लिएर भक्तपुरमा के कामका लागि प्रयोग गरियो बजेट भन्ने पनि प्रश्न उठ्दै आएको छ ।
भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको विकासको मुख्य आधार नै पर्यटक भएको बताउनुहुन्छ । यही शुल्कबाट यहाँ धेरै काम हुन पाएको उहाँ सुनाउनुहुन्छ । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्षसमेत रहनुभएका लासिवा भन्नुहुन्छ, यही शुल्कबाट भक्तपुर नगरपालिकाले इन्जिनियरिङ लगायतका आधा दर्जन बढी कलेज सञ्चालन गरिराखेको छ, अस्पताल सञ्चालन गरिराखेको छ ।
यसबाहेक सरसफाइ, सम्पदा संरक्षणमा पनि यो पैसा प्रयोग भइरहेको उहाँ बताउनुहुन्छ । यसबाहेक पनि नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क र पर्यटक शौचालय सञ्चालनमा ल्याएको छ । पर्यटक सूचना केन्द्रमार्फत विभिन्न छ भाषामा नक्सासहितको ब्रोसर उपलब्ध गराउने गरिएको छ ।
त्यस्तै, निःशुल्क इन्टरनेटसहित कम्प्युटर, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचियर, लगेज राख्ने कोठा, मोबाइल चार्ज गर्ने सुविधा तथा पत्रपत्रिकासहित विश्राम स्थलको व्यवस्था गरिएको छ ।
नगरपालिकाले स्थानीय पथप्रदर्शक परिचालन समिति गठन गरी स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिम दिनुका साथै आवश्यक व्यवस्थापनसमेत गर्दै आएको पनि जनाएको छ ।
विदेशीभन्दा पाँच गुणा नेपाली
भक्तपुरमा जति विदेशी पर्यटक घुम्न आउँछन् तीभन्दा सालाखाला सामान्यतया पाँच गुणा बढी आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने अनुमान छ ।
विदेशी पर्यटकसँग शुल्क उठाउने भक्तपुरका धेरै काउन्टरमध्ये मुख्य अर्थात् भक्तपुर प्रवेश गर्ने मुख्य काउन्टर खौमा काउन्टर हो, जहाँबाट विदेशी मात्रै होइन, स्वदेशी पर्यटक पनि सबैभन्दा बढी प्रवेश गर्छन् । सो काउन्टरमा बस्ने एक जना कर्मचारी मुरज दिदीयाले खौमा प्रवेशद्वारबाट मात्रै दैनिक टिकट काटेर जाने विदेशी पर्यटकभन्दा पाँच गुणा स्वदेशी नेपाली आन्तरिक पर्यटक घुम्न आएको अनुमान गर्नुहुन्छ ।
“स्वदेशी पर्यटक सामान्यतया दैनिक पाँच हजार बढी आउने अनुमान हामी गर्छौं”, उहाँले भन्नुभयो, “शनिबार, अन्य बिदाका दिनमा त यहाँ तेब्बर चौबर हुन्छ ।” साथै गाईजात्रालगायत विभिन्न जात्रा पर्वका बेला अझ अत्यधिक आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने गरेको अनुभव उहाँले बताउनुभयो । अहिले काठमाडौँ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्कुलका विद्यार्थीलाई पनि स्कुल स्कुलले भक्तपुर घुमाउने ल्याउने गरेको उहाँले सुनाउनुभयो । रेणु त्वानावासु/रासस








प्रतिक्रिया राख्नुहोस्