तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका मुस्लिम समुदायद्वारा भोटेकोशी बाढी पीडितका लागि सहयोग

वीरगञ्ज । वीरगञ्जका मुस्लिम समुदायले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि नगद तथा खाद्यान्न, कपडा लगायतका राहत सामग्री सहयोग गरेका छन् ।

वीरगञ्जको मुर्लीस्थित अन्जुमन इस्लामिया (मुर्ली जामे मस्जिद तथा अबरार मस्जिद) मा आबद्ध मुस्लिम समुदायले बाढीपीडितका लागि १ लाख ७१ हजार रुपैयाँ नगदसहित करिब २.५ टन राहत सामग्री सङ्कलन गरी सहयोग गरेका हुन् । अन्जुमन इस्लामिया मुर्ली–१२/१३ वीरगन्जको पहलमा सङ्कलन गरिएको राहत सामग्रीमा खाद्यान्न, कपडालगायतका दैनिक उपभोग्य सामग्री रहेका छन् ।

अन्जुमन इस्लामियाले सङ्कलन गरेको १ लाख ७१ हजार रुपैयाँ नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको जनाएको छ । त्यस्तै, करिब २५ क्विन्टल अर्थात् २.५ टन खाद्यान्न, कपडा तथा अन्य राहत सामग्रीसमेत बाढीपीडितका लागि उपलब्ध गराइएको असलम आलमले जानकारी दिनुभयो ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । यसै क्रममा वीरगन्जका मुस्लिम समुदायले समेत सामूहिक रूपमा राहत सङ्कलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेका हुन् ।

अन्जुमन इस्लामियाले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सङ्कलन गरिएको जनाएको छ । सङ्कलित सामग्री बाढीबाट प्रभावित तथा पीडित परिवारको आवश्यकता सम्बोधन गर्न प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button