तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपीडित र घाइतेको सहयोगार्थ वीरगञ्जमा १ सय ११ जनाद्वारा रक्तदान

वीरगञ्ज । रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीको कारण घाइते भएकाहरूको उपचारका लागि आवश्यक पर्ने रगत सङ्कलन गर्न आज वीरगञ्जमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज बैंकर्स ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा ९ जना महिलासहित १ सय ११ जनाले रक्तदान गरेका छन् । बाढी–पहिरो प्रभावित तथा विशेष गरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित कार्यक्रममा वीरगञ्जका विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ग्रुपका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद्का बेला गरिने रक्तदानले आकस्मिक उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई र युवा नेता अरविन्द सिंह लगायतको उपस्थिति रहेको थियो ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको प्राविधिक टोलीले रगत सङ्कलनको व्यवस्थापन गरेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button