रसुवामा बाढीपछि उद्धार, खोज तथा राहत तीव्र, दुई हेलिकप्टर परिचालन
काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।
सरकारले जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा सर्न निरन्तर सूचना प्रवाह भइरहेको छ।

बाढीका कारण सडकमा जोखिम बढेकाले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारले आग्रह गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्र सक्रिय भएका छन्। नेपाली सेनाले पनि उद्धार तथा खोज कार्य अघि बढाएको छ।
सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी कम्पनीका हेलिकप्टरलाई समेत उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ।
यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको छ।







प्रतिक्रिया राख्नुहोस्