प्रचण्ड गर्मीमा झ्याप–झ्याप बिजुली जाँदा जनजीवन अस्तव्यस्त
वीरगञ्ज । औपचारिक रूपमा लोडसेडिङको तालिका सार्वजनिक नभए पनि वीरगन्ज सहित मध्य तराईका जिल्लाहरूमा छिनछिनमा बिजुली जाने समस्याले सर्वसाधारण प्रभावित भएका छन् ।

खासगरी मध्य तराईका ग्रामीण क्षेत्र, सहर तथा औद्योगिक कोरिडोरमा विगत एक महिनादेखि झ्याप–झ्याप बिजुली काटिँदा किसानदेखि ठूला उद्योगीसम्मले ठूलो सास्ती खेप्नुपरेको छ ।
प्रचण्ड गर्मीका कारण मध्य तराईका बारा, पर्सा र रौतहट लगायतका जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । लामो समयदेखिको अनियमित विद्युत् आपूर्ति र लो–भोल्टेजका कारण सर्वसाधारणको दैनिकीका साथै उद्योग–व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत प्रतिकूल असर परेको छ ।
सबैभन्दा बढी प्रभावित पर्साको वीरगन्ज र आसपासका बासिन्दा भएका छन् । रातिको समयमा पटक–पटक बिजुली जाँदा साना बालबालिका, वृद्धवृद्धा र मध्यम तथा निम्न आय भएका परिवारको निन्द्रा बिथोलिएको छ । इन्भर्टर र एसी जोड्न नसक्ने सर्वसाधारण गर्मी र अन्धकार दुवै सहनुपर्ने बाध्यतामा छन् । रातिको समयमा पटक पटक विद्युत् ट्रिपिङ हुने गरेको स्थानीयको गुनासो छ ।
अनियमित विद्युत् आपूर्तिले गर्दा सहरी क्षेत्रमा विद्युतीय उपकरणहरू बिग्रिने क्रम बढेको छ भने औद्योगिक क्षेत्रमा जेनेरेटर चलाएर उत्पादन गर्नुपर्दा लागत तीव्र रूपमा बढेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । विशेष गरी रातको समयमा विद्युत् सेवा अवरुद्ध हुने क्रम बढेपछि आक्रोशित स्थानीयले दैनिक जसो नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्र पुगेर घेराउ समेत गर्दै आएका छन् ।
विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले गर्मी बढेसँगै घर–घरमा एसीको प्रयोग बढेकाले ट्रान्सफर्मरमा क्षमताभन्दा बढी भार परेर ट्रिपिङ भइरहेको दाबी गर्नुभयो ।
देशमा विद्युत् उत्पादन वा आपूर्तिमा अभाव नभए पनि तराई क्षेत्रका पुराना विद्युत् संरचना, अव्यवस्थित सहरीकरण र वितरण प्रणालीमा परेको अत्यधिक भारका कारण समस्या समाधानमा कठिनाइ भइरहेको प्राधिकरणको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्