तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा तथा महोत्तरीमा चैते धान खेती गर्ने कृषकहरूको सङ्ख्यामा वृद्धि

जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न पालिकाहरूमा पछिल्लो समयमा चैते धान खेती गर्ने कृषकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

कट्ठामा ५ देखि ७ मनसम्म उत्पादन हुने भएकाले चैते धान प्रति किसानहरु आकर्षित हुन थालेका छन् । धनुषा तथा महोत्तरी जिल्लाका सुख्खा तथा बाढीले प्रभावित भएका ४ पालिकामा नेपाल सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले चैते धान प्रबद्र्धन कार्यक्रम ल्याएर विभिन्न क्रियाकलाप गरेपछि यस प्रति किसानको आकर्षण बढेको हो ।

विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा धनुषाको वटेश्वर, जनकनन्दनी तथा महोत्तरीको सोनमा तथा सम्सीका निम्न वर्गका किसानलाई लक्षित गरेर चैते धान प्रवद्र्धन अन्तर्गत उन्नत बिउँ, प्रविधि, सिँचाइका लागि आवश्यक सामाग्रीका साथै आवश्यक सिपका लागि प्रशिक्षण दिएपछि किसानहरुले चैते धान गर्न थाल्नु भएको छ ।

वर्षको तीन बाली खेतमा गर्न मिल्ने भएकाले धनुषाको वटेश्वरमा मात्र ३५ बिघामा चैते धान किसानहरुले लगाएको अगुवा किसान बृजलाल महतोले जानकारी दिनु भयो । हर्दिनाथ १, २ र ३ जातका चैते धानको बिउँ ८५ प्रतिशत अनुदान आयोजनाले दिएपछि गाउँमा धेरै किसानले यो खेती गरेको उहाँले जानकारी दिनु भयो ।

आफूहरूलाई समयमा बिउँ, मल तथा सिँचाइको प्रबन्ध भएको खण्डमा मुलुकलाई धान, चामल तथा अन्य खाद्यान्नहरूमा पूर्ण रुपमा आत्म निर्भर बनाउने साहस आफूहरूमा भएको अगुवा किसान रामचन्द्र महतोले बताउनु भयो ।

धनुषा तथा महोत्तरीको ती चार पालिकामा चैतेधान प्रबद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानहरु निक्कै खुशी भएर चैते धानको क्षेत्र विस्तार गर्दै जानु भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका कृषि अधिकृत शिवचन्द्र झाले जानकारी दिनु भयो । उहाँले चार पालिकामा मात्र १ सय ५० बिघामा चैते धान खेती गरिएको जानकारी दिनु भयो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले साना तथा निम्न वर्गका किसानहरूलाई खाद्य सुरक्षा, पोषण सुधार, कृषि उत्पादनको बजारीकरण सहितका क्षेत्रमा सहयोग गर्दै आएको आयोजनाका क्लष्टर इकाई धनुषाका प्रमुख रविलाल शर्माले जानकारी दिनु भयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button