तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा धान रोपाई: पर्सामा उत्साहजनक प्रगति, बारामा भने सुस्त

वीरगन्ज। भूमिगत सिँचाइ कुलो तथा गण्डक नहरको कारण मधेस प्रदेशका ८ जिल्लाहरू मध्ये असार २३ गते सम्म सबैभन्दा बढी धान रोपाई पर्सा जिल्लामा भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले असार २३ गते सम्म पर्सामा ४८ प्रतिशत भन्दाबढि क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको बताउनुभयो । 

गण्डक नहरको पानी असार १५ गते देखिनै बढि आएको, भूमिगत सिँचाइको व्यवस्था, खोलामा बाँध बाँधेर निर्माण गरिएका कुलोबाट भएको सिँचाइ तथा आकाशे पानीले समेत पर्साको ग्रामीण क्षेत्रमा धान रोपाइँको वृद्धिदर बढेको थापाले बताउनुभयो । 

पर्सामा हालसम्म झण्डै खेतीयोग्य जमिन मध्ये २४ हजार हेक्टर भन्दाबढि क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । 

पर्सामा ५० हजार हेक्टर क्षेत्रफलमा बर्से धानखेती गरिँदै आएको छ । यसपपटक पर्सामा असार १५ अगाडी नै १३ प्रतिशत भन्दाबढि क्षेत्रमा धान रोपाई सम्पन्न भएको र सिँचाइको सुविधा पुगेका पर्साको जगरनाथपुर, सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा ८० प्रतिशत भन्दाबढि धान रोपाई सम्पन्न भएको छ भने ठोरी गाउँपालिकामा ६० प्रतिशत धान रोपाई सम्पन्न भएको केन्द्रका सूचना अधिकारी थापाले बताउनुभयो । 

वीरगंज महानगरपालिका क्षेत्रमा भने हालसम्म ३० प्रतिशत मात्रै धान रोपाई भएको दाबी गर्दै थापाले सिँचाइको व्यवस्था पर्साको शहरी इलाकामा भन्दा ग्रामीण इलाकामा राम्रो रहेको कारण यसबर्ष ग्रामीण क्षेत्रमा चाँडो धान रोपाई सम्पन्न हुने बताउनुभयो । 

यता पर्साको छिमेकी जिल्ला बारामा यस वर्ष धान रोपाइँ अपेक्षाकृत सुस्त बनेको छ । असार २३ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १५ प्रतिशत अर्थात् ५ हजार ९ सय ८० हेक्टर जमिनमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी गणेश महराका अनुसार जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको भए पनि हालसम्म सीमित क्षेत्रमै रोपाइँ हुन सकेको हो ।

उहाँका अनुसार गत वर्ष यही अवधिसम्म करिब २१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको थियो । यस वर्ष वर्षा ढिलो र न्यून भएकाले रोपाइँको दर गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको बताउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button