तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नेपालगञ्जमा कृत्रिम विपद् अभ्यास

बाँके । नेपालगञ्जमा भूकम्पीय जोखिमप्रति पूर्व तयारी सुदृढ गर्दै विपद् प्रतिकार्य क्षमताको परीक्षण गर्न कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन) सम्पन्न गरिएको छ।

विपद्का बेला हुने सम्भावित चुनौतीहरूको सामना गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीचको समन्वय र कार्यसम्पादन क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास आयोजना गरिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विपद् विज्ञ डा.सिर्जन मल्ल र दामोदर अधिकारीले विपद् व्यवस्थापनका क्रममा आवश्यक समन्वय, निर्णय प्रक्रिया तथा प्रतिकार्य व्यवस्थापनका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले विपद् व्यवस्थापनसम्बन्धी कार्यविधि, व्यवहारिक अनुभव तथा उद्धार–राहत कार्यका विविध आयामबारे प्रस्तुति दिनुभएको थियो। त्यसपछि सहभागीहरूलाई तीन समूहमा विभाजन गरी भूकम्पसँग सम्बन्धित काल्पनिक घटनामा आधारित टेबल टप सिमुलेशन अभ्यास सञ्चालन गरिएको थियो।

अभ्यासका क्रममा विपद्को अवस्थामा विभिन्न निकायबीच हुने समन्वय, सूचना आदानप्रदान, स्रोत तथा जनशक्ति परिचालन, निर्णय प्रक्रिया र आपत्कालीन प्रतिकार्य संयन्त्रको परीक्षण गरिएको थियो। आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार यस्तो अभ्यासले वास्तविक विपद्का समयमा देखिन सक्ने कमजोरी पहिचान गर्न र सुधारका उपायहरू तय गर्न महत्वपूर्ण सहयोग पुर्‍याउँछ।

कार्यक्रममार्फत स्थानीय विपद् व्यवस्थापन समिति तथा विभिन्न विषयगत समितिहरूबीचको समन्वय, जिम्मेवारी बाँडफाँट र कार्यसम्पादन क्षमताको मूल्याङ्कन गर्दै थप सुदृढीकरणका उपायहरूबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले विपद् पूर्व तयारीलाई व्यवहारमा उतार्न यस्ता अभ्यास नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले विपद् व्यवस्थापनमा पूर्व तयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै यस्ता अभ्यासले वास्तविक विपद्का बेला छिटो, प्रभावकारी र समन्वयात्मक प्रतिकार्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) ले विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी तथा प्रभावकारी प्रतिकार्य प्रणाली सुदृढीकरणका क्षेत्रमा काम गर्दै आएको छ। उक्त परियोजना युएनडिपी, युनिसेफ, युएन वुमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ। यसले स्थानीय तहमा विपद् व्यवस्थापन संरचनालाई सक्षम र दिगो बनाउने लक्ष्यका साथ विभिन्न गतिविधिहरू अघि बढाइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button