आर्थिक कूटनीति, सौम्य शक्ति र प्रवर्तनका क्षेत्र परराष्ट्र मन्त्रालयको प्राथमिकतामा
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री खनालले विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हीतको आधारमा सन्धी सम्झौता गर्ने नीति रहेको बताउनुभयो ।
परराष्ट्र मन्त्री खनालले दिगो विकासमा योगदान, जलवायु परिवर्तन अनुकूल कार्यमा सहयोग जुटाउने, निर्यात प्रवर्द्धन, वैदेशिक लगानी, रोजगारी र पर्यटन प्रवर्धनका लागि प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री खनालले विदेशमा बस्ने नेपाली ड्यासफोराको हकहित संरक्षण गर्ने, विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आवद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पुरा गर्न अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गर्ने बताउनुभयो ।
हालसम्म विश्वका एक सय ८३ मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिनुहुँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउदै लैजाने कार्यमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
परराष्ट्र मन्त्री खनालले मन्त्रालयले निर्धारण गरेको द्धिपक्षिय तथा बहुपक्षीय बैठक, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन लगायत महत्वपूर्ण भ्रमण तथा अन्य कूटनीतिक गतिविधिबाट राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको पनि बताउनुभयो।
परराष्ट्र मन्त्री खनालले यस वर्ष दुइपक्षिय सम्बन्ध सुदृढीकरण, क्षेत्रिय र अन्तर्राष्ट्रिय सहकार्यलाई बढवा दिने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने, सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने कार्यहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
यस्तै मन्त्री खनालले कन्सुलर सेवा डिजिटाइजेन गर्ने, राहदानी वितरणलाई सहज अनुगमन योग्य र प्रविधिमैत्री बनाउने, नियोगमार्फत श्रमिक सुरक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन र समस्यामा परेका श्रमिकका उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा घर फिर्तासँग सम्बन्धित कार्यक्रमका क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताउनुभयो ।
मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय संवाद शृङ्खलाको सुरुवात गर्ने,सगरमाथा संवाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सीप, श्रम र पूजीको सञ्चालन र उपयोगका लागि नेपाली ड्यासफोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम समेत गर्ने योजना रहेको जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्