तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी क्षेत्र यातायात व्यवस्थापन समितिमा नयाँ नेतृत्व

काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँदेखि पूर्व क्षेत्रमा सञ्चालन हुने पूर्वयातायात व्यवस्थापन प्रालिको अध्यक्षमा सुनिल कुँवर निर्वाचित हुनुभएको छ ।

प्रालिको आइतबार बसेको विशेष साधारणसभाले कुँवरको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको सदस्यमा राजेन्द्र रिजाल, किरणकुमार खड्का, पङ्कज मल्ल, राजेन्द्रबहादुर थापा, राजु विक्रम मिश्र, विकि गुरागाईँ, तेजप्रसाद न्यौपाने र सरोज न्यौपाने निर्वाचित हुनुभएको छ ।

साधारणसभाले प्रमुख सल्लाहकारमा पुण्यप्रसाद (सरोज) सिटौला र श्री मैनालीलाई चयन गरेको छ । काठमाडौँदेखि पूर्व क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विस २०८० साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आएको छ ।

उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायतका स्थानमा यातायात सञ्चालन हुँदै आएका छन् ।

प्रालिले काठमाडौँको नयाँबसपार्कबाट नारायणी पूर्वसञ्चालन हुने सबै सवारीसाधनमा जिपिएस सिस्टम र सिसि क्यामरा जडान गरिसकेको छ । पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि पूर्वयातायात व्यवस्थापन प्रालिले ‘अनलाइन टिकट’ प्रणालीसमेत लागू गरिसकेको जनाइएको छ ।

कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारको नीतिअनुसार प्रालिले अनलाइनलगायत सुधारका योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो । अब चाँडै नै कम्पनीका बसमा ‘लगेज ट्याग’ व्यवस्था लागू गरिने उहाँले जानकारी दिनुभयो । उक्त कम्पनीमार्फत हाल काठमाडौँदेखि पूर्व क्षेत्रमा एक सयभन्दा बढी सार्वजनिक यातायात सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button