सबैको सामूहिक प्रयासबाट समृद्धि सम्भव हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबैको सामूहिक प्रयासबाट मात्र प्रदेशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
कर्णाली प्रदेश योजना आयोगले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकमा मुख्यमन्त्री कँडेलले एकल प्रयासबाट विकास सम्भव नहुने भएकाले सबै पक्षले आ–आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकारवाला बीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । बजेट विनियोजन गर्दा विकास र समृद्धिका पक्षमा जनसमर्थन बढ्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै उहाँले प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नो क्षमता र स्रोतअनुसार सरकार सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

खर्च गर्ने विषयमा बढी केन्द्रित हुनु भन्दा पनि आम्दानी बढाउने विषयमा ध्यान दिन जरुरी रहेको बताउँदै उहाँले उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने योजनातर्फ जोड दिन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले प्रदेश र स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक पालिकामा योजना बैङ्क निर्माण गर्ने कार्यमा प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले बजेट वितरण प्रणाली र शासन शैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै अध्ययन, अनुसन्धान र तथ्यका आधारमा योजना निर्माण गर्नुपर्ने जोड दिनुभयो । समाजमा निराशा फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै विकासका सकारात्मक पक्षलाई पनि उजागर गर्नुपर्नेमा उहाँले जोड दिँदै सकेसम्म सबै पक्षको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले लोकतन्त्र, संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार जिम्मेवार बन्न आवश्यक रहेको औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्