बाजुरा हुम्ला सीमा विवाद-हिमालीका बस्तीमा प्रहरी गस्ती
बाजुरा । बाजुरा–हुम्ला सीमा विवाद घटनापछि हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा त्रास फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयको सुरक्षासँगै पर्यटकीय क्षेत्र रानीसैन तथा साइपाल बेसक्याम्प जाने पर्यटकको सुरक्षालाई लक्षित गर्दै लाम्पाटा क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) कमला बोहराको नेतृत्वमा करिब दुई दर्जन प्रहरी टोली हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा खटिएको छ। टोलीले वडा नं. ३ अन्तर्गत गुम्बा, लाम्पाटा लगायतका क्षेत्रमा नियमित गस्ती सञ्चालन गर्नुका साथै शान्ति–सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती, विपद् जोखिम तथा स्थानीय समुदायका आवश्यकताबारे स्थलगत जानकारी सङ्कलन गरिरहेको जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले हिमाली गाउँपालिका–३ को लाम्पाटा–च्याचौर क्षेत्रमा स्थायी रूपमा सुरक्षा उपस्थिति बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोलीमाथि हुम्लाका स्थानीयले अवरोध तथा आक्रमण गरी फिर्ता पठाएको घटनापछि प्रशासन थप सतर्क बनेको छ। उक्त घटनाले सीमा क्षेत्रको सुरक्षा संवेदनशीलता बढाएको भन्दै प्रशासनले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार रानीसैन जाने पर्यटक र स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र रानीसैन नजिकै रहेको लाम्पाटा गाउँमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माणको कार्य अगाडि बढाएपछि हुम्लावासीले विरोध जनाउँदै अवरोध सिर्जना गर्नुका साथै हुल हुज्जत सहित कुटपिट गर्दा ६ जना स्थानीयलाई गम्भीर घाइते बनाइएको थियो । सीमा क्षेत्रको संवेदनशीलता, स्थानीयको सुरक्षा चिन्ता तथा पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै प्रशासनले शान्ति–सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्