बागलुङमा अतिक्रमित जग्गाको विवरण सङ्कलन हुँदै
बागलुङ । बागलुङ जिल्लाका स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण सङ्कलन गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई पत्राचार गरेपछि बडिगाड र तमानखोला गाउँपालिकाले त्यस्ता जग्गाको खोजी सुरु गरेका हुन् ।
तमानखोला गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाभित्र सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी भए गाउँपालिका वा वडा कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ । साथै, सुकुम्बासीका रूपमा सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिलाई प्रमाणसहित गाउँपालिकामा निवेदन दिन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
सूचनाको बेवास्ता गर्दै निवेदन नदिएमा सार्वजनिक जग्गासम्बन्धी प्रचलित कानुनअनुसार अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिने परियारले जानकारी दिनुभयो ।
यस्तै, बडिगाड गाउँपालिकाले पनि सार्वजनिक जग्गा संरक्षणका लागि अतिक्रमित जग्गाको विवरण सङ्कलन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको पत्र र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाले यस्तो अभियान थालेको हो । गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी कुनै जानकारी भए १५ दिनभित्र उपलब्ध गराउन स्थानीयवासीलाई आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो ।
गृहमन्त्रालयले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्