मकवानपुरमा वैशाख २ गतेबाट घरमै पासपोर्ट सेवा सुरु हुँदै
मकवानपुर । सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्य योजनाअनुसार मकवानपुरमा घरमै पासपोर्ट पुर्याउने सेवा वैशाख २ गतेबाट सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको व्यवस्थापनमा हुलाक सेवामार्फत उक्त सेवा सुरु गर्न लागिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार उक्त सेवाअन्तर्गत पहिलो चरणमा हेटौँडा क्षेत्रमा रहेका सेवाग्राहीलाई लक्षित गरी पासपोर्ट वितरण गरिनेछ ।
“हामीसँग हाल ५६० वटा पासपोर्ट उपलब्ध रहेको भएपनि जिल्लाभरि पुर्याउने विषयमा केही असहजता हुने देखिएकाले पहिलो चरणमा हेटौँडा क्षेत्रका सेवाग्राहीलाई सेवा दिने योजना छ ।”, उहाँले भन्नुभयो । सरकारको योजना अनुसार पासपोर्ट, राष्ट्रिय परिचयपत्र, सवारी अनुमति पत्रलगायत सेवा सुचारु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सरकारको योजना अनुसार सेवाग्राहीलाई लाइन बस्नुपर्ने झन्झट हटाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले हुलाक सेवामार्फत घरमै पासपोर्ट पुर्याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “यस सेवामा नेपाल हुलाक सेवाले ढुवानीको जिम्मेवारी लिनेछ भने प्रशासनले लागतलगायत आवश्यक प्रक्रिया पूरा गरी पासपोर्ट सम्बन्धित व्यक्तिसम्म पुर्याउनेछ ।” प्रजिअ अधिकारीले भन्नुभयो ।
जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेले एउटा पासपोर्टको तौल करिब ८० ग्राम हुने र वितरणका लागि प्रति पासपोर्ट करिब ८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । साथै, सम्बन्धित व्यक्ति घरमा नभेटिएमा पासपोर्ट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै स्पष्ट कार्यविधि तयार भइनसकेको हुँदा समस्या हुनसक्ने उहाँको भनाई छ । यस्तो अवस्थामा पासपोर्ट पुनः हेटौँडामै फिर्ता ल्याएर वितरण गर्ने विकल्पबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको उहाँले बताउनुभयो ।
जिल्ला हुलाक कार्यालयमा हाल ४६ जना कर्मचारी कार्यरत रहे पनि सेवा विस्तारसँगै जनशक्ति पनि अभाव हुन सक्ने देखिएको छ । यसलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारीले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा हेटौँडा क्षेत्रमै सेवा सुरु गरिनेछ र त्यसपछि क्रमशः अन्य स्थानीय तहमा विस्तार गरिने योजना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्