तपाईँ सुन्दै हुनुहुन्छः

चैत लागेसँगै सुदूरपश्चिममा ‘भिटौलो कार्यक्रम सुरु’

डडेल्धुरा । चैत महिना सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा चलिराखेको सस्कृती ‘भिटौलो’ पर्व सुरु भएको छ ।

विशेषगरी डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ लगायतका जिल्लामा चैत महिनाभर माईती पक्षका दाजुभाइले विवाहित छोरी बहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रहिआएको छ ।

भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो । यस अवसरमा दाजुभाइ तथा माइती पक्षका आफन्तले मीठो मसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरी बहिनीको घरमा पुग्ने गर्छन् । 

भेटघाटसँगै एक दुई दिन ससुरालीमै बसेर परिवारबिच दुखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार कैलाश कुमार पाण्डे बताउनुहुन्छ ।

पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन् । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरी बहिनीलाई भेट्न जाने प्रयास गर्छन् । यही कारणले दाजुभाइ कहिले भेट्न आउलान् भन्ने प्रतीक्षामा दिदीबहिनीहरू बाटो कुर्ने चलन अझै जीवित छ । 

आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ । भिटौलोले माइतीघरबाट पराइ घर गएकी दिदीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानका रूपमा लिइन्छ । 

पहिले भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली तथा घरेलु सामग्री लिएर जाने चलन रहेको स्थानीय उपेन्द्र राज जोशी बताउनुहुन्छ । परम्परादेखि चल्दै आएको यो चलन आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबिचको मायाको प्रतीकका रूपमा जीवित रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button