शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मन्त्री भट्टराई
गोरखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
गोरखाका सरस्वती माविको हीरक जयन्ती समापन समारोह कार्यक्रममा शुक्रबार गोरखा आइपुग्नुभएका मन्त्री भट्टराईसँग प्रेस चौतारी गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीन वटै तहको सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
“सरकारले वि.स २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढाएको छ ।”, उहाँले भन्नुभयो ‘‘सबैले साथ दिने हो भने हामी त्यसलाई सम्पन्न गर्न सक्छौ”,
उहाँले अनिवार्य शिक्षा ऐनले स्पष्ट गरेको व्यवस्थालाई स्थानीय सरकारले पनि पूर्णरुपमा पालना गरी कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पुरा गर्नका लागि गुणस्तरीय सँगै उद्यमशील शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षासँग जोडिएका नीति निर्माणमा शिक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने भन्नुहुँदै मन्त्री भट्टराइले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षामा उद्यमशीलता कस्तो हुनेभन्दा पनि कति बजेट आउने भन्ने र त्यसलाई व्यरोक्रेसीले यताउता गरेर अनुत्पादक क्षेत्रका योजनामा धेरै खर्च गर्ने गरेको बताउनुभयो ।
“क्याम्पसहरू विद्यार्थी नभएर खाली भएका छन् । विद्यालयमा शिक्षक नियुक्ति गर्न खोज्दा शिक्षक पाइएको छैन, यस्तो अवस्थामा अनुत्पादक क्षेत्रमा राज्यले किन लगानी गर्ने भनि प्रश्न उठेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराइले विद्यालय शिक्षा ऐन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले छलफलमा रहेको र थुप्रै विषय संशोधनको तयारी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्