मिथिलाका हरेक चाडपर्वको संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिलाका हरेक चाडपर्व मानव जीवन र जगतसँग जोडिएकाले यसको संरक्षण गर्न आवश्यक भएको बताउनुभएको छ ।
मुख्यमन्त्री सिंहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा आजदेखि जनकपुरधाममा शुरु भएको समाचकेवा मूर्तिकला निर्माण कार्यशालाको उद्घाटन गर्नुहुँदै समाचकेवा जस्ता पर्वले पारिवारिक तथा सामाजिक एकता, आपसी भाईचारा बढाउनुका साथै प्रकृतिलाई संरक्षण गर्ने सन्देश दिएकाको बताउनुभयो । उहाँले समाचकेवा मूर्तिकला निर्माण सम्बन्धि प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले नयाँ पुस्तामा मिथिलाका कतिपय महत्वपूर्ण चाडपर्वको विषयमा जानकारी दिनुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै संस्कृति र संस्कारको संरक्षण गर्नु पर्दछ भन्ने भावना भित्रबाट विकास गर्नका लागि सामाजिक तथा सांस्कृतिक संस्थाहरूले काम गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले मिथिलाको भाषा, संस्कृति तथा संस्कारको संरक्षणका लागि थोरै भए पनि विभिन्न संस्थाहरूसँग सहकार्य गरेर प्रदेश सरकार काम गर्नका लागि तयार रहेको बताउनुभयो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रुपान्तरणका लागि ललित कलाको अभियान अन्तर्गत समावेशीता सहितको सङ्घीयतालाई बलियो बनाउने किसिमको कार्यक्रमहरू प्रतिष्ठानले विभिन्न प्रदेशहरूमा गरिरहेको बताउनुभयो ।
उहाँले समाचकेवा जस्तो सांस्कृतिक पर्वको प्रवर्द्धन गरेर मुलुकमा सांस्कृतिक पर्यटनको विकास गर्न सक्ने भएकाले प्रतिष्ठानले यस कार्यशालामा सहकार्य गरेको बताउनुभयो ।
मधेश प्रदेशका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले समाचकेवा जस्ता पर्व नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यस्ता प्रकारको प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भाषा, साहित्य तथा संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि उपमहानगरपालिकाले विभिन्न प्रकारको कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
वरिष्ठ साहित्यकार एवं संस्कृति विद् डा.राजेन्द्रप्रसाद विमलले मानव जीवन तथा जगतसँग जोडिएको समाचकेवा पर्वले राम्रो मान्छेको सम्मान तथा नराम्रो मान्छेको तिरस्कार गर्नुपर्ने सन्देश दिएकाले अहिलेको समयमा यो निक्कै महत्वपूर्ण रहेको बताउनुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संस्थापक एवं तत्कालीन जिल्ला विकास समिति धनुषाका सभापति रामचरित्र साह, साहित्यकार परमेश्वर कापर, सङ्गीतकार सुनिल मल्लिक सहितका वक्ताहरूले आफ्नो भनाइ राख्नुभएको थियो ।
६ दिनसम्म चल्ने कार्यशालामा कोशी प्रदेश तथा मधेश प्रदेशका २० जनाको सहभागिता रहेको जानकारी दिनुहुँदै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रममा विभिन्न विषयहरूमा संवाद तथा कार्यपत्र प्रस्तुत हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्