बुटवलको तिनाउ नदीमा छठ मनाउनेहरूको घुइँचो
बुटवल । बुटवल ११, देवी नगरमा बस्दै आएकी सुखदेवी मण्डलले २५ वर्ष यता छठमा व्रत बस्दै आउनु भएको छ । यो वर्ष पनि उहाँ निराहार व्रत बसेर तीनउ नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन आउनु भयो । आफ्नो श्रीमान् र छोराको लामो आयुको लागि यसरी व्रत बसेको उहाँको भनाई छ ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन तिनाउ नदीमा सयौँ व्रतालुहरूको घुइँचो लागेको छ । तिनाउ नदी किनारमा विशेष रुपमा सिङारिएको मण्डपमा बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
कार्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
डुब्न लागेको सूर्य र उदाउँदो सूर्यको पनि आराधना गर्ने प्रचलन छ । सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । विधि विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रही आएको छ ।
प्रतिक्रिया राख्नुहोस्