तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक अवरुद्ध 

बुटवल । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा पहिरो गएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनु भयो । पहिरोका कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसँगै गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की जिल्लाबाट बुटवल आवत÷जावत गर्ने यात्रुहरू अलपत्र परेका छन् । 

सडक खुलाउने प्रयास भइरहेको भएता पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको अधिकारी श्रेष्ठको भनाई छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रको सडक एकतर्फी खुलाइए पनि अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने उहाँले बताउनु भयो ।

त्यस्तै, अविरल वर्षाका कारण तिनाउ नदीले जल सतह पार गरेको छ । बाढी आउन सक्ने भएकोले तिनाउ नदी वरपर रहनेहरूले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button