तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका गोरखा मिडियाका सञ्चालक जिबी राईको लोकेसन पत्ता लागेको भनी उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने दिनुभएको अभिव्यक्ति बारे प्रश्न उठाउनु भयो । सांसद शर्माले गृहमन्त्री भएर संवेदनशील विषयमा पनि गोपनीयता नराखेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेशकुमार बर्तौलाले निकुञ्ज क्षेत्रमा भएको हेटौँडाका सुखबहादुर तितुङ घटनामा संलग्नलाई कारबाही  गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा सांसद्हरुले संसद् सचिवालयका कर्मचारीको मागलाई सम्बोधन गर्नु पर्ने, स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने र चुरे संरक्षणमा ध्यान दिनुपर्ने  लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यतै आजको बैठकमा बजेट पास गर्ने तयारी गरिएको छ । ​बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । 

आजै मन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; अर्थ मन्त्रालय; गृह मन्त्रालय; परराष्ट्र मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; राष्ट्रिय योजना आयोग; उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची रहेको छ  ।

यस्तै बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्माणार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button