तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस संसदीय दलको बैठक: अविलम्ब संसद् अधिवेशन बोलाउन माग

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले बिचौलियाहरूसँग जोडेर कार्यपालिका, न्यायपालिका तथा प्रहरी प्रमुखका विषयमा सार्वजनिक भएका घटनाहरूको सत्यतथ्य निरूपणका लागि यथाशीघ्र संसद् बैठक बोलाउन माग गरेको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले राज्य सञ्चालनको जिम्मेवारी बोकेका निकाय तथा व्यक्तिहरूसँग बिचौलियाको साँठगाँठ हुनु गम्भीर विषय भएको ठहर गरेको छ। यस्ता विषयको निष्पक्ष निरूपणका लागि उच्चस्तरीय संसदीय छानबिन आवश्यक रहेकाले अविलम्ब संसद् बैठक बोलाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका  नेता  भीष्मराज आङ्देम्बेले यस विषयमा थप रणनीति बनाउन अन्य विपक्षी दलहरूसँग पनि छलफल गर्न लागिएको जानकारी दिनुभयो।

हालैका दिनहरूमा सरकारबाट संविधान र विधिको शासनमाथि हस्तक्षेप एवं नियन्त्रणको ठाडो प्रयास भइरहेको बताउँदै आङ्देम्बेले यसलाई स्वेच्छाचारी शासन सञ्चालन गर्ने मनसायका रूपमा नेपाली काँग्रेसले लिएको बताउनुभयो।

यसैगरी, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले हालै पत्रकारहरूमाथि भएको धरपकड तथा सञ्चारगृहमाथिको हस्तक्षेपप्रति ध्यानाकर्षण गराउँदै बैठकले सो घटनाको निष्पक्ष छानबिनका लागि ‘संसदीय विशेष समिति’ गठन गर्न माग गरेको छ।

बैठकमा रसुवा तथा भोटेकोशी बाढीका सन्दर्भमा गठित उच्चस्तरीय संसदीय समितिमा रहेका सांसदहरूले विपद् र राहतको पछिल्लो अवस्थाबारे समितिलाई जानकारी गराउनुभएको थियो।

एक प्रश्नको जवाफमा नेता आङ्देम्बेले न्यायिक क्षेत्रमा बिचौलियाको प्रवेश र न्यायाधीशहरूमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगाउने भनिएको महाअभियोगका सम्बन्धमा पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक भएपछि मात्रै काँग्रेसले आवश्यक निर्णय लिने स्पष्ट पार्नुभयो।

संसदीय दलका नेताको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली कांग्रेसका प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button