तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइरालाको सम्मानमा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

बाँके । पूर्वप्रधानमन्त्री तथा संविधान निर्माण प्रक्रियाका प्रमुख नेतृत्वकर्ता स्वर्गीय सुशील कोइरालाको सम्मानमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका निर्माण गरिने भएको छ ।

बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा उक्त निर्माण कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट चालु आर्थिक वर्षभित्रै शालिक तथा बाटिका निर्माणको काम अघि बढाइनेछ ।

“बाँके निवासी पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले राष्ट्रका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ । उहाँको सम्मानमा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका निर्माण गर्न बजेट विनियोजन गरेका हौँ,” अध्यक्ष शाहीले भन्नुभयो ।

सादगीपूर्ण जीवनशैली र राजनीतिक निष्ठाका लागि परिचित कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन तथा संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको योगदानलाई चिरस्थायी बनाउँदै भावी पुस्तालाई राष्ट्रप्रतिको जिम्मेवारी, त्याग र समर्पणको सन्देश दिने उद्देश्यले निर्माण योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पश्चिम नेपालका विभिन्न जिल्लाका नागरिकले क्यान्सरसम्बन्धी उपचार सेवा प्राप्त गर्दै आएका छन् । अस्पताल परिसरमा निर्माण हुने शालिक र बाटिकाले कोइरालाको योगदानको स्मरण गराउनुका साथै अस्पताल परिसरलाई थप व्यवस्थित र आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्ज–१० स्थित ट्राफिक चोक नजिकै रहेको सुशील बाटिका परिसरमा स्वर्गीय कोइरालाको अर्धकदको शालिक निर्माण गरिसकेको छ ।

बैजनाथ गाउँपालिकाको यो योजनाले राष्ट्रिय राजनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका कोइरालाको स्मृति संरक्षण तथा सम्मान गर्ने प्रयासलाई थप बल पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button