तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले मतदानको समय १० बजेका लागि सारिएको हो।

महाधिवेशनमा सहभागी सात हजार दुई सय ५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ।

तीन स्थानमा मतदानको व्यवस्था

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button