तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिनपछि सल्यानमा विद्युत् सेवा सुचारु

सल्यान। लगातारको वर्षासँगै आएको पहिरो तथा रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि तीन दिनदेखि अन्धकारमा रहेको सल्यानमा विद्युत् सेवा पुनः सुचारु भएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको थियो ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोल ढल्नुका साथै तारमा क्षति पुगेपछि दाङ–श्रीनगर ३३ केभी प्रसारण लाइन पूर्ण रूपमा अवरुद्ध भएको थियो ,। विद्युत् प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि जिल्लाका अधिकांश क्षेत्रमा तीन दिनसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको थिएन । 

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश दत्त रावतका अनुसार पहिरो तथा रुख ढलेर विद्युतका पोल र तारमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । क्षतिग्रस्त संरचना मर्मत तथा विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिए पछि विद्युत् सेवा सुचारु भएको बताउनुभयो । ३३ केभि लाइन सुचारु भएपनि ११ केभि एलटि लाइनमा धेरै क्षति पुगेको र उक्त क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार दाङ–श्रीनगर ३३ केभी प्रसारण लाइनमा वर्षाका कारण ठूलो क्षति पुगेको थियो ।  ठाउँ–ठाउँमा पहिरो खसेका कारण क्षतिग्रस्त स्थानसम्म पुगेर मर्मत कार्य गर्नसमेत कठिनाइ भएको थियो ।  लगातारको वर्षा र सडक अवरोधका कारण प्राविधिक टोलीलाई विद्युत् प्रसारण लाइनको क्षति भएको स्थानमा पुग्न समस्या भएको उहाँको भनाई छ । 

विद्युत् अवरुद्ध हुँदा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय, सञ्चारमाध्यम, शैक्षिक संस्था तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका थिए । मोबाइल फोन चार्ज गर्नेदेखि इन्टरनेट तथा अन्य विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको थियो । 

वर्षायाममा पहिरो तथा रुख ढल्ने जोखिमका कारण सल्यानमा विद्युत् प्रसारण लाइनमा पटक–पटक समस्या आउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button