तपाईँ सुन्दै हुनुहुन्छः

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको जोखिम, पर्सामा उच्च सतर्कता

वीरगञ्ज । गृह मन्त्रालयको निर्देशन र मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । 

असोज ९ गतेदेखि ११ गतेसम्म अति भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले आपत्कालीन पूर्वतयारी र सतर्कताका निर्णयहरू गरेको छ ।

आज सम्पन्न समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ अनुसारका रणनीतिहरू तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समिति पर्साले उद्धार तथा राहतका लागि आफ्ना सबै संयन्त्रहरूलाई सक्रिय बनाएको छ । बाढी, डुबान र हावाहुरीको समयमा तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई आवश्यक सामग्रीसहित २४ घण्टा ’अलर्ट’ अवस्थामा राखिएको छ । साथै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई पनि २४सैँ घण्टा पूर्णरूपमा सक्रिय राखिने भएको छ ।

भारी वर्षा र बाढीको उच्च जोखिममा रहेका नदी तटीय तथा तल्लो भू–भागका बासिन्दालाई लक्षित गरी स्थानीय तह र सुरक्षा निकायमार्फत माइकिङ, रेडियो तथा सामाजिक सञ्जालबाट निरन्तर मौसम र सुरक्षा सम्बन्धी सूचना सम्प्रेषण गरिने भएको छ । समितिले जोखिमको यो अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सम्पूर्ण सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

जोखिमयुक्त बस्तीमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर आवश्यकताअनुसार सुरक्षित सामुदायिक भवन तथा विद्यालयहरूमा स्थानान्तरण गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।

यस्तै, स्वास्थ्य क्षेत्रतर्फ नारायणी अस्पताल, निजी अस्पताल, नर्सिङ होम तथा स्वास्थ्य केन्द्रहरूलाई आकस्मिक उपचार, आवश्यक औषधि र चिकित्सक टोलीसहित तयारी अवस्थामा रहन भनिएको छ भने जिल्लाभरका एम्बुलेन्सहरूलाई पनि तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ ।

भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै मुख्य सडक तथा हुलाकी राजमार्ग आसपासका बाटो तत्काल खुलाउन जेसीबी तथा हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको छ ।

यसैबीच, विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्लास्थित प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रमुखहरूलाई बिदामा नबस्न र जिल्ला नछाड्न आग्रह गरिएको छ । 

विशेष परिस्थितिमा जिल्ला छाड्नुपरेमा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीलाई पूर्व जानकारी गराउनुपर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button