मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु
वीरगञ्ज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा आज दिउँसो टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बाराको दुधौरा–पिलुवा सडकखण्डमा भएको सडक दुर्घटनामा परी स्थानीय शिक्षक ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको हो ।
कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक चौरेल पिलुवाबाट पथलैयातर्फ आउँदै गर्दा बैजुरा पुलनजिकै दुर्घटना भएको थियो । चौरेलले चलाउनुभएको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई निजगढतर्फ जाँदै गरेको ना १ अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका चौरेललाई उपचारका लागि तत्कालै वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्