तपाईँ सुन्दै हुनुहुन्छः

बाढीमा बेपत्ता भएका ६ जनाको नेपाली सेनाद्वारा जीवित उद्धार, उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवित उद्धार गरेको छ ।

यससँगै विभिन्न हाइड्रो कम्पनीका टनेलमा खोज तथा उद्धारलाई सेनाले जारी राखेको छ ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुग्नुभएको थियो ।

उहाँले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभयो । 

नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १ सय ५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो–सानो होल बनाई खोजी कार्य गरिरहेको र  चिलिमे हाइड्रोमा पनि खाजी कार्य जारी रहेको जनाइएको छ ।

त्रिशूली थ्री ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एस्काभेटरको प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे आउटलेटको होललाई ठूलो बनाउन क्राउनलाई ब्लाष्टिङ्ग गरी सफा गर्ने काम भइरहेको छ ।

त्रिशूली थ्री बीमा नेपाली सेनाको ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउन बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको अपडेटमा जनाइएको छ ।

नेपालीसेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीद्वारा प्रभावित क्षेत्रमा ३ नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवं आपत्कालीन उपचार कार्य गरिरहेको नेपाली सेनाको अपडेटमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button