बिर्तामोडस्थित ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीको छापा, ४१ जना पक्राउ

झापा I अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ बिजनेसमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको आरोपमा नेटवर्किङ कम्पनी ग्लोबल ओरियन्सको बिर्तामोडस्थित कार्यालयमा प्रहरीले छापा मारी ४१ जनालाई पक्राउ गरेको छ ।
विर्तामोड ५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा हिजो बुधबार अपराह्न इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष पाठकको नेतृत्वको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेलसहित २२ जना महिला र १९ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले औषधि, चेकजाँच गर्ने मेशिन, कागजात र केही नगद बरामद गरेको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
शैक्षिक परामर्श र तालिम गराउने भन्दै खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसँग मिलेर ग्लोबल ओरियन्सले अवैध रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधि बिक्री–वितरण गर्दै आएको बताइएको छ ।
होलबडी चेक गरिदिने भन्दै कक्षा १२ पढेका पिताम्बर कट्टेलले एउटा मेशिनबाट स्वास्थ्य जाँच गराउँदै आएका थिए । चेकजाँच गरे वापत् एक हजार रुपैयाँ शुल्क लिने गरेका थिए । उनीहरूले सबै रोग निको पारिदिने भन्दै गाउँका सर्वसाधारणलाई प्रभावित पार्दै आएको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्