वीरगन्जमा बाढी पीडितका लागि सामग्री सङ्कलन तीव्र
वीरगञ्ज । बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वीरगन्जका उद्योगी, व्यवसायी, शैक्षिक संस्था तथा अस्पतालहरूले सहयोग रकम तथा राहत सामग्री सङ्कलन कार्यलाई तीव्र पारेका छन् ।
यसै क्रममा वीरगन्जको रुङ्टा ग्रुपले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टा र सञ्चालक सुरेशकुमार रुङ्टाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसले बाढीपहिरो पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ जम्मा गराएको छ ।
त्यस्तै, वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक एवं वरिष्ठ चिकित्सक डाक्टर अबुल हैस अन्सारीले रसुवाको भोटेकोशी बाढी प्रभावितहरूका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उक्त रकमको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरिएको हो ।
यसै गरी, “तराई र पहाड एउटै हुन्“ भन्ने मानवीय सन्देशसहित पर्साको ठोरी युवा समाज र स्थानीय युवा अभियन्ताहरूले भोटेकोशी बाढीपीडितका लागि सङ्कलन गरेको एक ट्रक राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएका छन् । सङ्कलित सामग्रीहरूमा खाद्यान्न, लत्ताकपडा, ग्यास तथा सेनेटरी प्याड लगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन् ।
प्राकृतिक विपद्को यस कठिन घडीमा वीरगन्जका विभिन्न निजी क्षेत्र तथा सामाजिक संघ–संस्थाहरूको सक्रिय सहभागिताले प्रभावित नागरिकको राहत र पुनः स्थापनामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्