भोटेकोशी बाढीपीडितका लागि बाँकेबाट सहयोग जुट्दै
बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट मानवीय सहयोग जुट्न थालेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का पूर्ववडा अध्यक्ष मोहम्मद सफिक बेहनाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५१ हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ।
बेहनाले सहयोग रकम जम्मा गरेको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरण गर्दै बेहनाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस घडीमा राज्यसँगै नागरिक पनि पीडितको साथमा उभिनुपर्ने बताउनुभयो।
उहाँले नेपालका मुस्लिम समुदायलाई एकताबद्ध भएर विपद् प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न आह्वान गर्नुभएको छ।
सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले विपद्को समयमा गरिएको सहयोगले प्रभावित नागरिकको पीडामा मल्हम लगाउने बताउनुभयो। उहाँले सहयोग रकमभन्दा त्यससँग जोडिएको मानवीय भावना अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी तामाङले बेहनाले यसअघि कोरोना महामारीका समयमा पनि अक्सिजन अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुई लाख रुपैयाँ सहयोग गर्नुका साथै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको स्मरण गर्नुभयो।
यसैगरी, लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका राजा खान नेपालगञ्जले पनि प्रमुख जिल्ला अधिकारी तामाङमार्फत भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
यसैबीच, नेपालगञ्जका विभिन्न मस्जिदमा शुक्रबार बाढीपीडितका लागि सहयोग रकम संकलन गरिएको छ। मुस्लिम अगुवा तथा जामा मस्जिदका पूर्वअध्यक्ष हाजी अब्दुल रहमान मियाँका अनुसार विभिन्न मस्जिदबाट संकलित एक लाख ९८ हजार पाँच सय १३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी तामाङलाई बुझाउने तयारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तामाङले विपद्को समयमा गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताउँदै सक्षम व्यक्ति, संस्था तथा समुदायलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा जोडिन आग्रह गर्नुभएको छ।
भोटेकोशी बाढीपीडितका लागि बाँकेबाट व्यक्तिगत तथा सामुदायिक रूपमा सहयोग जुट्न थालेसँगै विपद्को समयमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र मानवीय सहयोगको भावना थप बलियो भएको देखिएको छ।






प्रतिक्रिया राख्नुहोस्