गण्डकी प्रदेश सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

कास्की I गण्डकी प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गर्दै विपद्को यस कठिन घडीमा प्रदेश सरकार पीडित नागरिकको साथमा रहेको बताउनुभयो । उहाँले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
उहाँले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
अपिलमा सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि यस समयमा संयम, धैर्य र आपसी सहयोग अत्यन्त आवश्यक रहेको उल्लेख गरिएको छ । विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले सबैलाई एकजुट भएर विपद्को सामना गर्न तथा पीडित नागरिकको साथमा उभिन आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्