गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको सामूहिक राजीनामा
कास्की । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिनुभएको छ । बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाउनुभएको हो ।

एमालेबाट सरकारको नेतृत्व गर्नुभएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले केन्द्रको राजनीतिक समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको जानकारी दिनुभयो ।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहनुभएको थियो । मुख्यमन्त्री पाण्डेले गत वैशाख २ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनीहरूलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
यसअघि मङ्गलवार बसेको एमाले संसदीय बोर्डको बैठकले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । एमालेका मन्त्रीहरू आफूहरूले निर्माण प्रक्रियामा भूमिका खेलेको बजेट कार्यान्वयनमा जानुअघि नै सरकारबाट बाहिरिन बाध्य भएका छन् ।
उता एमाले सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीको समर्थन भने मुख्यमन्त्री पाण्डेलाई कायमै रहेको छ । राप्रपा तत्काल सरकारमा सहभागी नहुने पक्षमा देखिएको छ भने नयाँ शक्ति पार्टीका फणीन्द्र देवकोटा मन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्