तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले दैलेखको थापा टोल जोखिममा

दैलेख।अविरल वर्षासँगै गएको पहिरोले दैलेखको ठाटीकाँध गाउँपालिका-५ स्थित थापा टोलका स्थानीयवासी त्रासमा रात बिताउन बाध्य भएका छन्।

पहिरोका कारण सोही टोलका पाँच घर उच्च जोखिममा परेका छन्।

पहिरोले घर तथा जग्गामा क्षति पुर्‍याएको स्थानीय सेरबहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार घर र आँगनसमेत चर्किएर जोखिम बढेकाले राति घरमा बस्न नसकी आफन्तकोमा शरण लिनुपर्ने अवस्था सिर्जना भएको छ।

पहिरोका कारण क्षति पुगेको विषयमा गाउँपालिकामा जानकारी आइसकेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले बताउनुभयो। प्रभावित परिवारको अवस्था बुझेर आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै उहाँले जोखिममा रहेका परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ।

यसैगरी पहिरोकै कारण ठाटीकाँध गाउँपालिका-५ को कठायत टोलमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। खानेपानीको मुख्य पाइपलाइनमा पहिरोले क्षति पुर्‍याएपछि सो समस्या आएको हो। स्थानीयले अवरुद्ध पाइपलाइन तत्काल मर्मत गरी खानेपानी सुचारु गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button