क्षति न्युनिकरण तथा उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जन धनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्याँसको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परी जनधनको क्षति भइरहेको भएको, कैंयौ घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो ।
सांसदहरुले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
सांसदहरुले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परी पछिल्लो २ हप्तामा २२ जनाको निधन भएको र २ जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोजतलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनुपर्ने, राहत सामग्री तत्काल पुर्याउन र क्षति न्युनिकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै अविरल वर्षापछि देशका विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सडक दुर्घटना, खानेपानीका संरचना, विद्युत् संरचना लगायतका पुगेको क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले लामो समयदेखि खाना पकाउने एलपी ग्याँसको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्