रोल्पा : साउनमा मात्रै विपद्जन्य घटनाबाट २२ जनाको मृत्यु
रोल्पा । रोल्पामा साउन महिनामा मात्रै बाढी, पहिरो र चट्याङजन्य विपद्का घटनामा परी २२ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना नौ वर्षीय बालक अझै बेपत्ता छन् ।

लगातारको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्था छ ।
वर्षाका कारण जमिनमा धाँजा फाट्ने, चिरा पर्ने तथा कमजोर बनेको भू–भागबाट लेदो ढुङ्गा, रुखसहितको पहिरो खस्दा घर, गोठ तथा बस्ती पुरिनुको साथै मानिस तथा पशु चौपायाको ज्यान समेत गएको हो ।
साउन १ गते परिवर्तन गाउँपालिका–१ पाछाबाङको सल्लाबोटमा बाटोमा हिँडिरहेका ५७ वर्षीय देउप्रसाद घर्तीमगरलाई पहिरोले पुर्दा मृत्यु भएको थियो ।
साउन ९ गते सुनछहरी गाउँपालिका–१ सेरमको दबाङ लेकमा गोठालो गएको समयमा पहिरोले पुरिँदा ५१ वर्षीय असौजी घर्तीमगर र ३६ वर्षीय अमरा घर्तीमगरको मृत्यु भयो ।
त्यसैगरी, साउन २० गते सुनछहरी गाउँपालिकाको पोबाङबाट सामाजिक सुरक्षा भत्ता बुझेर घुस्बाङ घर फर्किने क्रममा ७४ वर्षीय मसान घर्तीमगरलाई बाछेमखोलाले बगाउँदा मृत्यु भएको थियो ।
साउन २७ गते राति अविरल वर्षाको कारण थवाङ गाउँपालिका–५ उवाको कोटलबारा गाउँमा गएको भीषण पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति गर्यो । पहिरोमा परी १८ वर्षीय शान्ति पुनमगर, ६० वर्षीय कमल बहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीय मनखना पुनमगर, ८५ वर्षीय हस्तकला रोकामगर, ३८ वर्षीय जुनकुमारी पुनमगर, ५ वर्षीय अशोक पुनमगर, ८० वर्षीय बल बहादुर पुनमगर, ६६ वर्षीय मनि पुनमगर, ३४ वर्षीय महेन्द्र घर्तीमगर, ८० वर्षीय अजम्बर पुनमगर र ६१ वर्षीय लीलबहादुर पुनमगर गरी १२ जनाको मृत्यु भयो ।
साउन २८ गते राति सुनछहरी गाउँपालिका–२ भित्रीगाम अन्तर्गत फलबाङ र माङरारु गाउँमा पहिरोले घर तथा गोठ पुरिँदा ७७ वर्षीय वीरु घर्तीमगर, ६८ वर्षीय शनि घर्तीमगर, ७० वर्षीय लली घर्तीमगर र ६४ वर्षीय लामे घर्तीमगर गरी चार जनाको मृत्यु भयो ।
सोही राति लुङ्ग्री गाउँपालिका–१ खदरमा आफ्नै घरमा बसिरहेका ५९ वर्षीय वीर बहादुर खत्रीलाई चट्याङ लागी घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
साउन ३१ गते बिहानीपख लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीय अम्मी गुरुङको मृत्यु भएको छ ।
यस अवधिमा ९ वर्षीय असिम पुनमगर पहिरोमा परी बेपत्ता छन् । पहिरो तथा अन्य विपद्जन्य घटनामा ६० वर्षीय कुले घर्तीमगर, २२ वर्षीय हिमाल घर्तीमगर, २५ वर्षीय सञ्जय घर्तीमगर र ७३ वर्षीय जौखे घर्तीमगर घाइते भए ।






प्रतिक्रिया राख्नुहोस्