तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा एक महिने लामो वर्षे मेला सुरु

दैलेख । दैलेखमा आजदेखि एक महिने लामो परम्परागत वर्षे मेला सुरु भएको छ । 

स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो मेला गाँठेमङ्गलका दिनदेखि सुरु भई श्रीकृष्ण जन्माष्टमीका दिन लाखेको वध गरेपछि सम्पन्न हुने गर्दछ । वर्षे मेलालाई दैलेखको मौलिक धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको एभरेष्ट क्लब दैलेखका अध्यक्ष लछुमन श्रेष्ठले बताउनुभयो । मेला अवधिभर जिल्लाका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक गतिविधि हुने भएकाले स्थानीयवासी तथा बाहिरी क्षेत्रबाट सदरमुकाममा आउने श्रद्धालु र दर्शकको चहलपहल बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विशेषगरी गाँठे मङ्गलका दिनदेखि जन्माष्टमीसम्म विभिन्न दिनमा परम्परागत जात्रा, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भगवती युवा क्लबका अध्यक्ष नन्दबहादुर श्रेष्ठले बताउनुभयो । यस अवधिमा आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मेला भर्न सदरमुकाम आउने र स्थानीय संस्कृति तथा परम्पराको अवलोकन गर्ने चलन रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वर्षे मेलाले दैलेखको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको न्यु ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले बताउनुभयो । झण्डै एक महिना लामो समयसम्म चल्ने भएकाले यस मेलाले स्थानीय व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अध्यक्ष सुनारले बताउनुभयो ।

गाँठे मङ्गलदेखि सुरु भएको वर्षे मेला श्रीकृष्ण जन्माष्टमीका दिन विशेष धार्मिक तथा सांस्कृतिक गतिविधि सहित समापन हुने अध्यक्ष सुनारले बताउनुभयो । वर्षे मेला कुल २६ दिनसम्म चल्ने उहाँको भनाई छ । श्रावण २६ गतेबाट भाद्र १९ गते सम्म सदरमुकाममा लाखे नियमित नचाउने गरिन्छ । भाद्र १२ गते जनै पूर्णिमाका दिन (बुढिगाई) टाकटुके जात्रा, १३ गते गाईजात्रा, १४ गते रोपाई जात्रा, १५ गते बाघ जात्रा, १६ गते राउटे जात्रा, १७ गते वैरागी (जोगी) जात्रा र भाद्र १९ गते जन्माष्टमी त्यसको भोलि पल्ट श्रीकृष्णले लाखेको वध गरेसँगै वर्षे मेला समापन हुने अध्यक्ष सुनारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button